गैर आवासीय नेपालीहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न सक्ने सम्बन्धी सूचना

गैर आवासीय नेपाली तथा गैर आवासीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुबाट नेपाली बैँकमा विदेशी मुद्रा (अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआन) मा मुद्दती एवं बचत खाता खोली रकम जम्मा गर्न सक्ने र रकम फिर्ता लान सक्ने गरी नेपाल राष्ट्र बैंकद्वारा देहाय बमोजिमका व्यवस्था गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

मुद्दती खातासम्बन्धी व्यवस्था

नेपाल राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैँकमा देहायका शर्तहरु पालना हुने गरी परिवर्त्य विदेशी मुद्रामा मुद्दती खाता खोल्न सकिने:

शर्तहरु

१.  विदेशी मुद्रामा मुद्दती निक्षेपको अवधि कम्तीमा १ वर्ष हुनुपर्ने।

२.  यस प्रकारको खातामा विदेशी संस्थाहरु (वित्तिय संस्थाहरु समेत) तथा गैर आवासीय नेपालीहरु सहभागी हुन सक्ने।

३.  दुई वा दुईभन्दा बढी विदेशी संस्थाहरु वा गैर आवासीय नेपालीहरुको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिने।

४.  गैर आवासीय नेपालीको नाममा खाता खोल्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपाली परिचयपत्रको प्रतिलिपि समेत लिनुपर्ने। खाता संचालनको लागि सो परिचयपत्र नवीकरण भएको हुनुपर्ने।

५.  संस्थागत विदेशी निक्षेपकर्ताको हकमा यस प्रकारको खाता खोल्दा संस्थाको संचालक समितिले खाता खोल्ने सम्बन्धमा गरेको निर्णय समेत संलग्न गर्नुपर्ने।

६.  यस प्रकारको खाता अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा खोल्न सकिने।

७.  मुद्दती निक्षेप खाताको ब्याज प्रदान गर्ने प्रयोजनका लागि मात्र सम्बन्धित मुद्दती निक्षेपकर्ताको नाममा सोही मुद्रामा बचत खाता खोल्न सकिने।

८.  साँवा तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम प्राप्त भएको हो, सोही देशमा निक्षेपकर्ताको नाममा खोलिएको खातामा मात्र फिर्ता भुक्तानी पठाईने। तर यस व्यवस्थाले विदेशी मुद्रा खाता खर्च गरी नेपाली रुपैयाँमा भुक्तानी वा रकमान्तर गर्न बाधा नपर्ने।

९.  मुद्दती निक्षेपमा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमानुसार प्रदान गरिने। साँवाको हकमा भुक्तानी अवधि समाप्त भएपछि मात्र फिर्ता हुने। तर, एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेप एक वर्ष अवधि व्यतीत भएपछि निक्षेपकर्ताले Premature गर्न चाहेमा Premature गरी फिर्ता लैजान सक्ने।

१०. मुद्दती निक्षेप खातामा बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्ने। उक्त रकम फिर्ता गर्नुपर्ने खण्डमा समेत बैंकिङ्ग प्रणाली मार्फत फिर्ता हुने।

११. संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर आवासीय नेपालीहरुले न्यूनतम अमेरिकी डलर पाँच हजार वा सो बराबरको (शर्त नं. ६ मा उल्लिखित अन्य मुद्राको समेत) रकम निक्षेपको रुपमा जम्मा गर्न सक्ने।

१२. यसरी जम्मा गरिएको विदेशी मुद्रा मुद्दती निक्षेपको नेपाली रुपैँयामा हुने रकमको शतप्रतिशत रकमसम्म स्वदेशी मुद्रामा कर्जा लगानी गर्न सकिने।

१३. मुद्दती निक्षेप खाता संचालन सम्बन्धी अन्य कुराहरु तोकिएबमोजिम हुने।

बचत खातासम्बन्धी व्यवस्था

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैंकमा देहायका शर्तहरु पालना हुने गरी परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न सकिने:

शर्तहरु

१. यस्तो निक्षेप खाता गैर आवासीय नेपाली तथा गैर आवासीय नेपालीबाट प्रवर्द्वित विदेशस्थित संस्थाको मात्र खोल्न/संचालन गर्न सकिने।

२. गैर आवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिने।

३. गैर आवासीय नेपालीको नाममा वा गैर आवासीय नेपालीबाट प्रवर्द्वित विदेशस्थित संस्थाको नाममा खाता खोल्दा तथा संचालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने।

४. यस प्रकारको खाता परिवर्त्य विदेशी मुद्रा (डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआन मध्ये कुनै मुद्रा) मा खोल्न सकिने।

५. यस प्रकारको खातामा रकम जम्मा गर्दा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्ने।

६. यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नुपर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको विदेशमा खोलिएको खातामा फिर्ता पठाइने। तर यस्तो खाता खर्च गरी नेपाली रुपैँयामा भुक्तानी वा ट्रान्सफर गर्न यस व्यस्थाले बाधा नपर्ने।

७. यस्तो निक्षेप खातामा बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्ने। उक्त रकम फिर्ता गर्नुपरेको खण्डमा समेत बैंकिङ्ग प्रणाली मार्फत फिर्ता गरिने।

नेपाली राजदूतावास
बैंकक, थाइल्याण्ड।
२०२२ जनवरी