विदेशमा बसोवास गरिरहेका नेपाली नागरिकहरूले नेपाल सरकारको कुनै निकायमा पेश गरिने अधिकृत वारेसनामा यस राजदूतावासबाट प्रमाणित गराउन सकिनेछ । यसको प्रक्रिया निम्नबमोजिम हुनेछ ।
– अधिकृत वारेसनामा प्रमाणीकरण नियोग प्रमुखबाट हुने भएकोले प्रमाणित गर्न राजदूतावासमा आउनुपूर्व समय लिन उपयुक्त हुने ।
– अधिकृत वारेसनामा दिने ब्यक्तिले अधिकृत वारेसनामामा नियोग प्रमुखको रोहबरमा हस्ताक्षर तथा ल्याप्चे सहिछाप गर्नु पर्ने भएकोले सम्बन्धित व्यक्ति स्वयं अनिवार्य रुपमा उपस्थित हुनु पर्नेछ ।
– अधिकृत वारेसनामा प्रमाणीकरणको लागि निम्न कागजात पेश गर्नु पर्नेछ ।
– प्रचलित कानूनबमोजिम दर्ता भएको कानून व्यवसायीद्वारा नेपाली कागजमा रीतपूर्वक तयार गरी कानून व्यवासायीको प्रमाण पत्र नम्बरसमेत उल्लेख भै सहिछाप भएको अधिकृत वारेसनामाको कागजात दुई प्रति
– बिक्री वितरण वा नामसारी गर्न लागिएको भए ब्यक्तिगत सम्पत्तिको स्वामित्वको कागजातको प्रतिलिपि ।
– अधिकृत वारेसनामा दिनेको नागरिकताको प्रमाणपत्र र राहदानीका सक्कलै प्रति एवं प्रतिलिपिहरु तथा अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रतिलिपि ।
– अधिकृत वारेसनामा दिने र लिनेको हालसालै खिचिएका दुई दुई प्रति फोटाहरु ।
– आवश्यकताअनुसार नाता प्रमाणित, मृत्य दर्ता, हकवाला आदिको प्रमाण ।
– अधिकृत वारेसनामामा दुई जना साक्षीको नाम, ठेगाना र सहिछापसमेत हुनु पर्नेछ र वहाँहरूको नागरिकताको प्रतिलिपी समेत समावेश गर्नुपर्नेछ ।
– अधिकृत वारेसनामा प्रमाणीकरणको दस्तुर: मुद्दा सम्बन्धी अधिकृत वारेसनामा तथा सम्पत्तिको तिनपुस्तेभित्रमा हक हस्तान्तरण गर्ने सम्बन्धी अधिकृत वारेसनामा भए १५० (एक सय पचास) थाई भाट र तिनपुस्तेबाहेक अरुलाई सम्पत्ति बिक्री वितरण वा हक छाडी दिने सम्बन्धी अधिकृत वारेसनामाको १५०० (एक हजार पाँच मात्र) थाई भाट दस्तुर लाग्नेछ ।
– अधिकृत वारेसनामा दिने व्यक्तिले राजदूतको रोहवरमा सहिछाप गर्नु पर्ने छ ।
– अग्रिम समय लिई आएको अवस्थामा अधिकृत वारेसनामा सोही दिन प्रमाणित हुनेछ ।
– यस राजदूतावासबाट प्रदान भएको सेवाको लागि प्राप्त राजश्व दस्तुरको रसिद उपलव्ध गराइनेछ ।