प्रेस विज्ञप्तिः भानु जयन्ती कार्यक्रम २०८३ बैंककमा सम्पन्न

प्रेस विज्ञप्तिः भानु जयन्ती कार्यक्रम २०८३ बैंककमा सम्पन्न

थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका युवा पुस्तामा नेपाली भाषा, साहित्य, कला तथा संस्कृति प्रतिको लगाव बढाउन तथा नेपाली भाषा-संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक तथा सांस्कृतिक संघ-संस्थाहरूको सहकार्यमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा थाइल्याण्डमा रहेका करिब २५० भन्दा बढी नेपाली समुदायका सदस्य, साहित्यकार, बुद्धिजीवी, विद्यार्थी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

नेपाली राजदूतावास सँगै गैरआवासीय नेपाली संघ (NRNA) थाइल्याण्ड, थाई नेपाली संघ, पीपुल अफ नेपाली ओरिजिन (PNO), थाई-नेपाली फ्रेन्डसिप एशोसिएसन, वेस्टर्न युनियन, मगर गुरुङ संघ, तामाङ समाज, नेवार संघ, किरात साहित्यिक एवं सांस्कृतिक समाज, नेपाल एयरलाइन्स लगायतका संघ-संस्था तथा विशिष्ट व्यक्तित्वहरूसंगको सहकार्यमा थाइल्याण्डमा तेस्रो भानु जयन्ती कार्यक्रम उत्सवका रूपमा सम्पन्न भएको हो।

महामहिम राजदूत श्री धनबहादुर वलीले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण, नेपाल तथा थाइल्याण्ड दुवै देशको राष्ट्रिय गान प्रस्तुत गरी कार्यक्रम औपचारिक रूपमा प्रारम्भ भएको थियो। कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष श्री मुन गुरुङले आफ्नो स्वागत मन्तव्यमा भानु जयन्ती नेपाली समुदायलाई भाषा, साहित्य र संस्कृतिको साझा सूत्रमा बाँध्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो।

यस वर्षको कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विभिन्न उमेर समुह तथा खुल्ला कविता प्रतियोगिता तथा कविता वाचन प्रतियोगिताहरू, विशिष्ट साहित्यकारहरूद्वारा कविता वाचन, पुस्तक लोकार्पण, वर्ष व्यक्तित्व २०८३ सम्मान रहेका थिए। प्रतियोगितामा थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायबाट उल्लेखनीय संख्यामा मौलिक कविताहरू प्राप्त भएका थिए। प्राप्त कविताहरूको प्रारम्भिक मूल्याङ्कन पश्चात उत्कृष्ट रचनाहरूलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो। प्रतियोगिताका सबै समुहमा साहित्यिक गुणस्तर, मौलिकता, भाव, भाषा, प्रस्तुति तथा वाचनकलालाई आधार बनाई मूल्याङ्कन गरिएको थियो।

कार्यक्रमका लागि नेपालका वरिष्ठ साहित्यकार तथा समीक्षकहरू श्री शेखर गिरी (अध्यक्ष, साझा प्रकाशन), श्रीमती रीता खत्री (अध्यक्ष, विश्व नेपाली वाङ्मय प्रतिष्ठान), श्री कृष्ण प्रसाईं (अध्यक्ष, जरा फाउन्डेसन नेपाल), श्रीमती मोमिला जोशी (अध्यक्ष, नेपाली कलासाहित्य डटकम प्रतिष्ठान), डा. बिन्दु शर्मा (सदस्य, विश्व नेपाली वाङ्मय प्रतिष्ठान) तथा कवि तिलक पोखरेल र कवि भीम पाण्डे निर्णायक मण्डलमा रहनुभएको थियो। उहाँहरूले प्रतियोगिता तथा प्रकाशनका लागि प्राप्त करिब ८० वटा कविताको सम्पादन, मूल्याङ्कन तथा प्रतियोगितामा प्रस्तुत भएका कविताहरूको मूल्याङ्कन गर्नुभएको थियो।

कविता प्रतियोगिताको नतिजा निम्न अनुसार रहेको थियो।

कविता प्रतियोगिता प्रथम स्थान द्वितीय स्थान तृतीय स्थान

(क) ६ देखि १२ वर्ष उमेर समूह सुश्री सन्जना सुतार "मलाई किन सानो सम्झियौ" सुश्री बिन्दिया बराल

"सपना"

सुश्री अस्मिता खड्का

"जूनतारा"

(ख) १३ देखि २० वर्ष उमेर समूह सुश्री गोमा बुढाथोकी

"म को हुँ?" श्री फूलप्रसाद ओझा

"मेरो बुबा" सुश्री ज्योति पोखरेल

"सपना"

(ग) खुला कविता प्रतियोगिता श्री राहुल भट्टराई

"मान्छे" सुश्री रिना खड्का

"फूलेको फूल" श्री केशव आचार्य

"भानु तिमी ज्ञानका खानी हौ"

(घ)वाचन प्रतियोगिता श्री सन्दीप कार्की श्री रोहन सुवेदी श्री आकाश गुरुङ

प्रतियोगिताका प्रत्येक विधामा प्रथम हुनेलाई थाई भाट ५,०००, द्वितीय हुनेलाई थाई भाट ३,००० तथा तृतीय हुनेलाई थाई भाट २,००० नगद पुरस्कार, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

श्री भारती लिम्बुनीः वर्ष ब्यक्तित्व २०८३ बाट सम्मानीत

यस वर्षको कार्यक्रममा विशेष आकर्षणका रूपमा "वर्ष व्यक्तित्व २०८३" सम्मान प्रदान गरिएको थियो। म्यानमारमा जन्मनुभएकी तथा विगत करिब पच्चीस वर्षदेखि थाइल्याण्डमा शिक्षण तथा सामाजिक सेवामार्फत नेपाली भाषा, साहित्य, संस्कृति र नेपाली समुदायको उत्थानमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएकी नेपाली मूलकी विशिष्ट व्यक्तित्व श्री भारती लिम्बुनीलाई दोसल्ला, सम्मानपत्र, थाईभाट पाँचहजार तथा मायाको चिनोसहित सम्मान गरिएको थियो। म्यानमारमा समेत करिब २५ वर्ष शिक्षण सेवामा समर्पित रहनुभएकी उहाँ नेपाली तथा थाई समाजमा समान रूपमा सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

कार्यक्रममा चार महत्वपूर्ण कृतिहरूको संयुक्त रूपमा लोकार्पण गरिएको थियो। ती कृतिहरूमा २१३औँ भानु जयन्तीको अवसरमा प्रकाशित "भानु–२०८३", कवयित्री श्रीमती रीता खत्रीद्वारा लिखित कविता सङ्ग्रह "बाँच्नेहरूका नाममा", कवि श्री तिलक पोखरेलद्वारा लिखित कविता सङ्ग्रह "आनन्द उपहार", तथा जरा फाउन्डेसन नेपालका अध्यक्ष श्री कृष्ण प्रसाईंद्वारा लिखित कविता सङ्ग्रह "घामको वर्षा" को थाई भाषामा अनूदित संस्करण रहेका थिए। यस अवसरमा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने दिशामा अनुवादको महत्वपूर्ण भूमिकाबारे पनि चर्चा गरिएको थियो। कार्यक्रममा प्रकाशित "भानु–२०८३" पुस्तकमा थाइल्याण्डमा नेपाली स्रष्टाहरूका कविताहरु, नेपाली समाजको इतिहास, तथा साहित्यिक सामग्रीहरू समेटिएको छ। यसैगरी कार्यक्रममा थाईल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री धन बहादुर व़लीद्वारा रचना गरिएको गित “त्यहीँ हुन्छ नेपाल” पनि लोकार्पण गरिएको थियो।

कार्यक्रममा नेपालका विशिष्ट साहित्यकारहरू तथा अतिथिहरूले आफ्ना सिर्जनाहरू वाचन गर्दै नेपाली साहित्यको समृद्ध परम्परा, मातृभाषाप्रतिको दायित्व तथा प्रवासमा नेपाली भाषाको संरक्षणमा साहित्यको भूमिकाबारे विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रमा कविता वाचन, साहित्यिक संवाद तथा सांस्कृतिक आत्मीयताले विशेष वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत श्री धन बहादुर वलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र यसको विस्तारमा गरेको योगदानको उल्लेख गर्नुभयो। उहाँले विविध मातृभाषा र संस्कृतिमा समृद्ध नेपाली समाजमा भानुभक्तले नेपाली भाषालाई सबै नेपाली समुदायलाई भाषिक रूपमा जोडदै साझा भाषिक सूत्रमा बाँध्ने ऐतिहासिक काममा योगदान पुर्‍याएको स्मरण गर्नुभयो। भानु जयन्ती केवल एक साहित्यिक उत्सव मात्र नभई विश्वभर छरिएर रहेका नेपालीहरूको साझा पहिचान, नेपालका मातृभाषा, नेपाली भाषा, संस्कृति, र भावनात्मक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर रहेको कुरामा जोड दिनुभयो।

महामहिम राजदूतले विशेष गरी विदेशमा जन्मिएका र हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, आफ्ना मातृभाषा र संस्कृति सिकाउने दायित्व सम्पूर्ण नेपाली समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मातृभाषा, साहित्य र संस्कृतिको संरक्षणबाट मात्र नेपाली पहिचान दीर्घकालसम्म जीवित रहन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाली राजदूतावासले थाइल्याण्डमा नेपाली भाषा, मातृभाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहकार्य गर्ने सम्पूर्ण संघसंस्था, निर्णायक मण्डल, सहभागी कवि-कवयित्री, स्वयंसेवक, प्रायोजक तथा उपस्थित सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। कार्यक्रमका केही झलकहरु र प्रकाशन भएको पुस्तक यसैसाथ संलग्न गरिएको छ।