कम्बोडियामा रहनु भएका नेपालीहरुलाई अत्यन्त जरूरी अनुरोध !!
कम्बोडियामा रहनु भएका नेपालीहरुलाई अत्यन्त जरूरी अनुरोध !!
विभिन्न उद्देश्यले, विशेषगरी पर्यटनको बहानामा कम्बोडिया गई आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिकहरू त्यहाँ बसिरहनुभएको जानकारी राजदूतावासलाई प्राप्त भएको छ। साथै, केही नेपाली नागरिकहरू कम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी समेत प्राप्त भएको छ।
अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध हो। यस प्रकारका गतिविधि नियन्त्रण तथा अन्त्य गर्न र यसमा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार पाँचलाख अमेरिकि डलर सम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित कम्बोडिया सरकारले गत हप्तादेखि नयाँ कानून लागू गरेको छ। साथै, अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई समेत तीव्र बनाएको छ।
तसर्थ, आफूलाई प्राप्त भिषा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न हुनु भएको छ भने तुरुन्त त्यस्तो कार्य बन्द गरी नेपाल फर्कन राजदूतावास पुनः अनुरोध गर्दछ। यस सम्बन्धमा राजदूतावासले सम्बन्धित सबैलाई निरन्तर अनुरोध गर्दै आएको व्यहोरा अवगत नै छ ।
साथै, उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान पुनः अनुरोध गरिन्छ। वैदेशिक रोजगारीका लागि विदेश जानु अघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गरी रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान समेत अनुरोध गरिन्छ।
नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले राजदूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकहरूको तथ्याङ्क तथा सूचना संकलन गरिरहेको हुँदा कृपया निम्नअनुसारको अनलाइन फाराम भरी सहयोग गरिदिनु हुन अनुरोध छ।
अनलाईन फारामको लिङ्कः https://shorturl.at/eSVAZ
यदि आफ्नो परिवारका सदस्य, आफन्त, नातेदार वा साथीहरू मध्ये कोही कम्बोडियामा श्रम स्वीकृति बिना पर्यटकीय भिसामा गई लामो समयदेखि बसिरहनुभएको छ वा कुनै अप्ठ्यारो अवस्थामा पर्नुभएको छ भने सो सम्बन्धी जानकारी नेपाली राजदूतावास, बैंककमा वा कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालय, त्रिपुरेश्वरमा उपलब्ध गराइदिनु हुन समेत अनुरोध गरिन्छ।
आफुलाई कम्बोडिया पुर्याउने व्यक्ति उपर नेपाल फर्केपछी तथा कम्बोडियाबाट नै पनि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा उजुरी गर्नको लागि समेत अनुरोध गरिन्छ।
मानब बेचबिखन व्युरोको सम्पर्कको लागि
मानव बेचबिखन अनुसन्धान व्युरो, बबरमहल, काठमाण्डौं ।
सम्पर्क नं. :- +९७७-०१५३३९५६९/९८५१२९२२०० (डिउटी अधिकृत)
मोबाईल नं. :- +९७७-९८५१२९२२०० (WhatsApp, Viber, Imo)
टोल फ्रि नं. :- १६६००१४११७७
हटलाईन नं. :- ११७७
ईमेल:- ahtb@nepalpolice.gov.np
थप जानकारीको लागि नेपाली राजदूतावास, बैङ्ककको +६६ ०८४ ६६० ६०२९,
+ ६६ ०८६ ९९१ ५५५४ तथा +६६ ०८२ २८३ ७६९८ वा
ईमेल ठेगानाः nepbkk1@gmail.com ; nepalpassportbkk@gmail.com ; eonbangkok@mofa.gov.np मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ।
नेपाली राजदूतावास, बैंकक
२०८३।०१।२१ गते सोमबार

