प्रेस विज्ञप्तिः थाईल्याण्डको बैंककमा नेपाली चलचित्र “हिजो आजको कुरा (The Big Conversation)” प्रदर्शन गरिएको

प्रेस विज्ञप्तिः थाईल्याण्डको बैंककमा नेपाली चलचित्र “हिजो आजको कुरा (The Big Conversation)” प्रदर्शन गरिएको

नेपाली राजदूतावास, बैंककले हिजो २०८३ बैसाख २६ गते शनिवार थाईल्याण्डको बैंककस्थित सेन्ट्रल वर्ल्डको आठौ तलामा रहेको Thai Knowledge Park मा World Movies Series २०२६ को Opening Series को चलचित्रको रुपमा नेपाली चलचित्र “हिजो आजको कुरा (The Big Conversation)” को विशेष प्रदर्शन (Screening) आयोजना गरेको छ। कार्यक्रममा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका उच्च अधिकारी, थाई सरकारका प्रतिनिधि तथा अन्य विशिष्ट थाई नागरिकहरू गरी १५० जनाभन्दा वढिको उपस्थिति रहेको थियो।

नेपाली चलचित्रमार्फत नेपाललाई पर्यटन गन्तव्यका अतिरिक्त सभ्यता, संस्कृति, मानवीय मूल्य र सामाजिक विविधताले सम्पन्न राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराउने उद्धेश्यले यो चलचित्र प्रस्तुत गरिएको हो। यस्ता कार्यक्रमहरूले नेपालप्रतिको सकारात्मक धारणा निर्माण गर्न, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन, सांस्कृतिक आदानप्रदान विस्तार गर्न तथा जनस्तरमा आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रदर्शित नेपाली चलचित्र “हिजो आजको कुरा” ले नेपाली समाज, संस्कृति, परम्परा, जीवनशैली, पारिवारिक मूल्य, सामाजिक परिवर्तन तथा राष्ट्रिय पहिचानलाई कलात्मक र भावनात्मक ढंगले प्रस्तुत गरेको छ। चलचित्रले श्रमिक तथा विद्यार्थीका रूपमा विश्वव्यापी रूपमा बढ्दो बसाइँसराइले श्रोत मुलुकमा उत्पन्न गरेका सामाजिक तथा आर्थिक प्रभावलाई समेत संवेदनशील ढंगले चित्रण गरेको छ। साथै चलचित्रमा नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, गाउँघर, मौलिक भेषभूषा, लोकसंस्कृति तथा नेपाली जनजीवनको यथार्थपरक प्रस्तुति समेटिएको छ। त्यसैले विदेशी कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा विशिष्ट पाहुनाहरूलाई नेपालको सांस्कृतिक तथा सामाजिक विविधता बुझाउने उद्देश्यले उक्त चलचित्र प्रदर्शन गरिएको हो।

कार्यक्रममा थाईल्याण्डका लागि नेपालका महामहिम राजदूत श्री धनबहादुर वलीले नेपालको पर्यटन, सामाजिक तथा सांस्कृतिक अवस्थाका साथै चलचित्रको विषयवस्तुबारे प्रकाश पार्दै उपस्थित पाहुनाहरूलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा सेलरोटी, मःम, छोयला, आलुको अचार, चिउरा लगायतका नेपाली परिकारसहित स्वागत सत्कार (Reception) को व्यवस्था गरिएको थियो। साथै नेपालको पर्यटन प्रवर्द्धन गराउने विभिन्न फोटोहरु पनि प्रदर्शन गरिएको थियो।

नेपाली राजदूतावास, बैंकक

२०८२।०१।२७ गते आईतवार

​​​​​​​