थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस कार्यक्रम सम्पन्न
थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस कार्यक्रम सम्पन्न
यस राजदूतावासले २९ मे २०२६ को साँझ बैंककको अमारी होटलमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस आयोजना गर्यो। कार्यक्रम सगरमाथा नेपालको गौरबको रुपमा प्रस्तुत गर्दै मानव अस्तित्वको लागि हिमालयको संरक्षण, दिगो पर्यटन प्रवर्द्धन र वातावरणीय सचेतना अभिवृद्धि लगायतका विषयहरुमा केन्द्रित गरिएको थियो।
उक्त समारोहमा थाइल्याण्ड सरकारका प्रतिनिधिहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, संयुक्त राष्ट्र संघीय लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरू, पर्यटन क्षेत्रका अगुवाहरू, शिक्षाविद्, व्यवसायी, पर्वतारोही, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू गरी २५० भन्दा बढी उच्चस्तरीय अतिथिहरूको उपस्थिति रहेको थियो। यसले सगरमाथा दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा नेपालका पर्वतीय सम्पदा र जलवायु सम्बन्धी मुद्दाहरूलाई विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।
समारोहको उद्घाटन दीप प्रज्वलन, नेपाल र थाइल्याण्डका राष्ट्रिय गान तथा थाईल्याण्डकी Mother Queen Sirikit तथा पर्वतीय अभियानका क्रममा ज्यान गुमाएका साहसी व्यक्तिहरू र जलवायु परिवर्तनजन्य विपद्का पीडितहरूको सम्झनामा मौनधारणबाट गरिएको थियो। तत्पश्चात थाईल्याण्डमा बस्नु हुने नेपाली श्री अमन शाहीद्वारा नेपालमा पर्वतारोहण शुरु गर्नुपूर्व भगवानको आशिर्वाद लिने सिलसिलामा गरिने पुजामा बजाईने धुन प्रस्तुत गरिएको थियो।
त्यसपछि हिमालय क्षेत्रमा जलवायु परिवर्तनका प्रभावसम्बन्धी वृत्तचित्र प्रदर्शन गरी महामहिम राजदूत श्री धन बहादुर वलीबाट स्वागत मन्तव्य र नेपालका माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालको शुभकामना सहितको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। माननीय पराष्ट्र मन्त्री र महामहिम राजदूत हरुले आफ्नो सम्बोधनमा सगरमाथा केवल विश्वकै सर्वोच्च शिखर मात्र नभई नेपालको राष्ट्रिय गौरव, सांस्कृतिक पहिचान र मानव साहसको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले सगरमाथा तथा सम्पूर्ण हिमालय क्षेत्रलाई “एशियाको जलभण्डार” का रूपमा व्याख्या गर्दै हिमाली क्षेत्रको संरक्षण सम्पूर्ण मानव समुदायको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले जलवायु परिवर्तनले हिमाली क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरिरहेको र यसका असरहरू समुद्रसम्म पुगी रहेकोले हिमालय र महासागरबीचको अन्तरसम्बन्धलाई बुझ्दै सामूहिक अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
समारोहमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) का महानिर्देशकका भिडियो सन्देशहरू पनि प्रस्तुत गरिएको थियो। उहाँले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य आवश्यक रहेको विषयमा जोड दिनु भयो।
विशेष प्रस्तुति अन्तर्गत एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) का प्राध्यापक तथा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (IPCC) को प्रतिवेदनका प्रमुख लेखक डा. शोभाकर ढकालले हिमालय क्षेत्रको वर्तमान अवस्था, हिमनदीहरूको तीव्र पग्लने क्रम, जलस्रोत, जैविक विविधता तथा तल्लो तटीय क्षेत्रहरूमाथि पर्न सक्ने दीर्घकालीन प्रभावबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले हिमालयलाई केवल पर्वतीय क्षेत्रको विषयका
रूपमा नभई दुई अर्बभन्दा बढी जनसंख्याको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै हिमालयदेखि समुद्रसम्मको एकीकृत दृष्टिकोण, जल व्यवस्थापन, स्वच्छ ऊर्जा सहकार्य, जैविक विविधता संरक्षण तथा विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा थाइल्याण्डका पहिलो सगरमाथा आरोही श्री वितिद्नान रोजनापानिच तथा नेपाली पर्वतारोही श्री मिङमार शेर्पाले सगरमाथा आरोहणका अनुभवहरू साझा गर्नुभएको थियो। उहाँहरूले पर्वतारोहणका क्रममा देखिएका वातावरणीय परिवर्तन, हिमनदीहरूको अवस्थिति तथा पर्वतीय क्षेत्रमा बढ्दो जलवायु जोखिमबारे आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो।
समारोहको अर्को विशेष आकर्षणका रूपमा हालै अघिल्लो हप्ता थाइल्याण्डबाट नेपाल भ्रमण सम्पन्न गरी फर्किएको एक प्रतिनिधिमण्डलद्वारा तयार गरिएका हाते चित्रकला (Hand-painted Artworks) को विशेष प्रदर्शनी आयोजना गरिएको थियो। नेपाल भ्रमणका क्रममा उनीहरूले अवलोकन गरेका लुम्बिनी, महाबौद्ध, स्वयम्भु, काठमाण्डौ दरवार क्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, सांस्कृतिक सम्पदाहरू, स्थानीय जीवनशैली तथा प्राकृतिक सौन्दर्यलाई चित्रमार्फत प्रस्तुत गरिएको थियो। सहभागी अतिथिहरूले चित्रकला प्रदर्शनीलाई विशेष चासोका साथ अवलोकन गर्दै नेपाल र थाइल्याण्डबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउने माध्यमका रूपमा प्रशंसा गरेका थिए।
कार्यक्रममा उपस्थित सफल सगरमाथा आरोहीहरू श्री वितिद्नान रोजनापानिच, श्री मिङमार शेर्पा र श्री विक्रम कार्कीलाई दोसल्ला तथा सम्मानपत्रले विशेष सम्मान गरिएको थियो। कार्यक्रममा दिउँसो सम्पन्न भएको विजनेस टु विजनेस बैठकमा सहभागी नेपाली व्यवसायीहरुले नेपाल घुम्नको लागि प्रदान गर्नुभएको विभिन्न किसिमका १७ वटा प्याकेजहरुलाई लक्की ड्र मार्फत थाईल्याण्ड तथा अन्य विदेशी पाहुनाहरुलाई वितरण गरिएको थियो।
२०८३ साल जेठ १६ गते शनिवार
बैंकक









