प्रेस विज्ञप्ति: माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्री विराज भक्त श्रेष्ठले बैंककमा आयोजना भएको एशिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन तथा अन्य बैठकहरु
प्रेस विज्ञप्ति
माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्री विराज भक्त श्रेष्ठले आज बैंककमा आयोजना भएको एशिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्नुभयो। संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (UN ESCAP) र थाइल्याण्ड सरकारको संयुक्त आयोजनामा उक्त सम्मेलन २८ देखि २९ अक्टोबर २०२६ मा सञ्चालन भइरहेको छ। उक्त सम्मेलनमा माननीय मन्त्री श्री विराज भक्त श्रेष्ठ उपाध्यक्ष (Vice Chair) मा निर्वाचित हुनु भयो।
उपाध्यक्षको रुपमा माननीय मन्त्रिज्यूले उद्घाटन कार्यक्रम र विषय बस्तुको छलफलको क्रमममा समेत सम्बोधन गर्नु भयो। सम्बोधनका क्रममा माननीय मन्त्रीले हालैका भोटेकोशी - त्रिशूली तथा बूढीगण्डकी विपद्ले पुर्याएको जनधनको क्षति तथा नेपालको राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे जानकारी गराउनुभयो। उहाँले विपद्को समयमा प्राप्त ऐक्यबद्धता र सहयोगका लागि मित्रराष्ट्र, क्षेत्रीय संस्था तथा विकास साझेदारहरूप्रति आभार व्यक्त गर्नुभयो। विशेषतः भोटेकोशी विपद्को कारण पहिचान तथा विश्लेषणमा सहयोग पुग्ने गरी समयमै भूउपग्रह तस्बिर र प्राविधिक सूचना उपलब्ध गराएकोमा उहाँले ESCAP लाई धन्यवाद दिनुभयो।
माननीय मन्त्रीले हिमाली क्षेत्रमा उत्पन्न हुने विपद्ले नदी प्रणाली हुँदै तल्लो तटीय क्षेत्र र सीमापारसम्म असर पुर्याउन सक्ने उल्लेख गर्दै यस्ता अन्तरसम्बन्धित जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले हिमनदी, हिमताल, अस्थिर भिरालो भूभाग तथा नदी प्रणालीको नियमित अनुगमन, समयमै जोखिमसम्बन्धी सूचना आदानप्रदान र समुदायसम्म पुग्ने बहुप्रकोपी पूर्वसूचना प्रणालीको विकासका लागि सहकार्य गर्न आह्वान गर्नुभयो। साथै, भूउपग्रहबाट प्राप्त सूचना, भूस्थानिक विश्लेषण र कृत्रिम बुद्धिमत्ताको उपयोग विस्तार गर्दै सुरक्षित जलविद्युत् विकास, जलस्रोत व्यवस्थापन तथा जोखिममा आधारित विकास योजना अघि बढाउन प्राविधिक सहकार्य, संयुक्त अनुसन्धान र राष्ट्रिय क्षमता अभिवृद्धिको आवश्यकता औँल्याउनुभयो।
सम्मेलनका अवसरमा माननीय मन्त्रीले संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा ESCAP का कार्यकारी सचिव सुश्री आर्मिडा साल्सियाह अलिस्याहबाना; थाइल्याण्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री महामहिम श्री योड्चनन वोङ्सावात; भुटानका परराष्ट्रमन्त्री महामहिम श्री दिना नाथ ढुङ्ग्याल; र श्रीलंकाका स्वास्थ्य तथा आमसञ्चारमन्त्री माननीय डा. नलिन्दा जयतिस्सासँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभयो।
भेटवार्तामा आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको थियो। माननीय मन्त्रीले नेपालमा विपद्पश्चात् प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद ज्ञापन गर्नुभयो। भेटवार्ताका क्रममा विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता, प्रविधि तथा क्षमता विकासलगायत आपसी हितका विषयमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
माननीय मन्त्री आज साँझ थाइल्याण्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री महामहिम श्री योड्चनन वोङ्सावातले आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुनेछ।
भोलि, २९ अक्टोबरमा, माननीय मन्त्रीले नेपाल सरकार र ESCAP को संयुक्त आयोजनामा हुने “सगरमाथादेखि समुद्रसम्म: एशिया तथा प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद्प्रतिको उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट सिकिएका पाठ” विषयक उच्चस्तरीय क्षेत्रीय संवादलाई सम्बोधन गर्नुहुनेछ। उक्त संवादले हिमालदेखि समुद्रसम्मका अन्तरसम्बन्धित विपद् जोखिमबारे साझा बुझाइ विकास गर्ने तथा सूचना आदानप्रदान, अनुगमन, पूर्वसूचना र जोखिममा आधारित योजना एवं लगानीमा क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
यसैगरी, भोलि दिउँसो माननीय मन्त्रीले नेपाली राजदूतावास र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) को संयुक्त आयोजनामा हुने “अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एशियामा विपद् उत्थानशीलता अभिवृद्धि” विषयक संगोष्ठीलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ। उक्त कार्यक्रममा नेपालको उत्थानशील पुनर्स्थापना तथा पुनर्निर्माणका आवश्यकता र चुनौती तथा तिनको सम्बोधनमा विज्ञान, प्रविधि र साझेदारीको भूमिकाबारे छलफल हुनेछ।
https://www.youtube.com/watch?v=vhZYoR1lfmA
https://www.youtube.com/watch?v=rVp-hrIWGTg
नेपाली राजदूतावास, बैंकक
२८ अक्टोबर २०२६